@dillimalla: २०८३ जेठ ६ को प्रतिनिधि सभा बैठकको शून्य समयमा सल्यानी सांसद रमेश मल्लले सल्यानको स्वास्थ्य समस्याका विषयमा बोल्नुभएको छ- सम्माननीय सभामुख महोदय, केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी व्यथाले छट्पटिएकी महिलालाई “विशेषज्ञ चिकित्सक उपलब्ध छैन” भन्दै अस्पतालको गेटबाटै फर्काइएको अत्यन्त दुःखद घटना सार्वजनिक भयो। यो केवल एउटा घटना होइन, सल्यानको समग्र स्वास्थ्य समस्याको एक दारुनिक चित्र हो। सात जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले एक जना चिकित्सकको भरमा चलिरहेको छ। अस्पतालको पूर्वाधार निर्माणको काम व्यवस्थापकीय कमजोरी, सरकारी निकाय र निर्माण व्यवसायीको उदासीनताका कारण सुस्त गतिमा छ। आवश्यक उपकरण अभावमा सामान्य शल्यक्रियासमेत प्रभावित भइरहेका छन्। प्रत्येक पालिकामा १५ शैय्याको आधारभूत अस्पताल बनाउने सरकारी घोषणा पनि अधिकांश ठाउँमा अलपत्र छ। सभामुख महोदय, दुईपटक विज्ञापन गर्दा समेत कर्णाली प्रदेशमा ७६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहनु दु:खद छ। यसको जिम्मेवारी कसले लिने? तत्कालको लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरी फर्किएका विशेषज्ञ चिकित्सकलाई प्रदेश सरकारमार्फत जिल्ला अस्पतालमा खटाउने व्यवस्था गर्न र चिकित्सक अभावको दीर्घकालीन समस्या हल गर्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। #rameshmalla #dillimalla #salyan #health #parliamentofnepal