@koshinepal: फाइनल खेलमा विवाद, केहीबेर तनावग्रस्त बन्यो सुकुना मैदान : प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ को फाइनल खेलका क्रममा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ । शनिवार सुन्दरहरैँचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा सम्पन्न अत्यन्त रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा सलहेश युवा क्लब, सिराहाले आर.टी. धरान फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो । तर खेलको दोस्रो हाफमा प्रतिस्पर्धा झनै आक्रामक बन्दै जाँदा मैदान केही समय तनावग्रस्त बनेको थियो । खेलका क्रममा खेलाडीहरूबिच विवाद उत्पन्न भएपछि रेफ्रीको निर्णयलाई लिएर दुवै टोलीका खेलाडी तथा समर्थकहरू असन्तुष्ट बनेका थिए । विवाद बढ्दै जाँदा केही समय मैदानमै हातहालाहालको अवस्था सिर्जना भएको थियो भने दर्शक क्षेत्रसमेत तनावपूर्ण बनेको थियो । फाइनल खेल हेर्न हजारौँ दर्शक उपस्थित भएका कारण मैदानको माहौल थप संवेदनशील बनेको थियो । खेलाडीहरूबिचको भनाभन र निर्णयप्रतिको असन्तुष्टिले केहीबेर खेल अवरुद्ध हुन पुगेको थियो । त्यसपछि आयोजक समिति, सुरक्षाकर्मी तथा व्यवस्थापन टोली सक्रिय रूपमा परिचालन हुँदै स्थिति नियन्त्रणमा लिन सफल भएका थिए । आयोजक र सुरक्षाकर्मीको समन्वयपछि खेल पुनः सुचारु गरिएको थियो । तनावपूर्ण अवस्थाबिच पनि खेलाडीहरूले संयमता अपनाउँदै खेललाई निष्कर्षमा पुर्याएका थिए । अन्ततः सलहेश युवा क्लबले निर्णायक गोल गर्दै उपाधि जित्न सफल भयो । प्रतियोगिताको फाइनल खेल झरी, दर्शकको उत्साह, कडा प्रतिस्पर्धा र केही समय सिर्जिएको विवादका कारण थप चर्चित बनेको स्थानीय खेलप्रेमीहरूले बताएका छन् । आयोजकले खेललाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ ।