@dr.yogesh46: इलामको राजदुवालीमा गोलिया बोकेको ट्रक दुर्घटना, मानवीय क्षति भएन इलाम, असार १५ — इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार अपराह्न गोलिया (काठ) बोकेको ट्रक दुर्घटना भएको छ। दिउँसो करिब ३ः५० बजे इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तमबहादुर भुजेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ट्रक चालक झापाको मेचीनगर नगरपालिका–१३ निवासी करिब ३६ वर्षीय प्रकाश तिम्सिनालाई कुनै चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।