पुस्कर रोका मगर :
आजको यस विनाशकारी बाढी तथा पहिरोले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा पुर्याएको जनधनको क्षतिले हामी सबै नेपालीको मन अत्यन्त दुःखी र स्तब्ध भएको छ। यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। 🙏
यो समय कसैलाई दोष दिने वा दुस्मनी खोज्ने समय होइन, मानवता, सहयोग र एकताको हात बढाउने समय हो। नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, धनाढ्य व्यक्तिहरू, विश्व समुदाय तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमताले भ्याएसम्म उद्धार, राहत, उपचार र पुनःस्थापनामा सहयोग गर्न हार्दिक अपिल गर्दछु।
साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष आग्रह—खोला, नदी, खोँच तथा पहिरोको जोखिम भएका ठाउँमा कुनै पनि हालतमा नबसौँ। खोलालाई सानो भनेर, पानीको बहावलाई सामान्य भनेर वा पहिरोलाई कमजोर सम्झेर हेलचेक्र्याइँ नगरौँ। प्रकृतिको शक्ति कहिल्यै कमजोर हुँदैन। पानीको बहाव अचानक बढ्न सक्छ, पहिरो जुनसुकै बेला खस्न सक्छ। त्यसैले आफ्नो र आफ्ना परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ।
विपद्को बेला अफवाह फैलाउने होइन, सही सूचना आदानप्रदान गरौँ। जोखिममा परेकालाई सुरक्षित स्थानमा लैजान सहयोग गरौँ। जसले जे सक्छौँ—पैसा, खाद्यान्न, कपडा, औषधि वा श्रम—त्यसैबाट सहयोग गरौँ।
हामी श्रमिक नेपाली हौँ, हाम्रो शक्ति हाम्रो श्रम, एकता, सहयोग र मानवता हो। आज अरूको घरमा आएको दुःख भोलि हाम्रो घरमा पनि आउन सक्छ। त्यसैले पीडितलाई आफ्नै परिवार सम्झेर साथ दिऔँ।
विपत्तिमा परेका नेपाली एक्ला छैनन्—सम्पूर्ण नेपाल उनीहरूको साथमा छ। 🇳🇵🙏
दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि, शोकाकुल परिवारमा हार्दिक समवेदना तथा सम्पूर्ण नेपालीमा सतर्क र सुरक्षित रहन हार्दिक अनुरोध🥹🥹
2026-08-26 14:30:25