@dhanateras: भारतको तमिलनाडु सरकारले सरकारी स्वास्थ्य संस्थामा जन्मिने योग्य नवजात शिशुलाई १ ग्राम तौलको २२ क्यारेट सुनको औँठी दिने योजना सुरु गरेको छ। ‘थाइमामन थङ्गा मोतिरम’ नाम दिइएको योजना मुख्यमन्त्री सी. जोसेफ विजयले सेप्टेम्बर २८ मा मदुरैस्थित सरकारी राजाजी अस्पतालबाट शुभारम्भ गरेका हुन्। सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिएका योग्य शिशुलाई यो सुविधा दिइनेछ। सरकारी विवरणअनुसार जुन २२, २०२६ देखि जन्मिएका योग्य शिशु यस योजनामा समेटिनेछन्। लाभ लिन आमाको तमिलनाडुको स्थायी बासिन्दा हुनुका साथै गर्भावस्था सरकारी प्रणालीमा दर्ता भएको हुनुपर्नेछ। राज्य सरकारले योजनाका लागि वार्षिक ७५५.८३ करोड भारतीय रुपैयाँ बजेट छुट्याएको जनाएको छ। प्रारम्भिक चरणमा १ लाख २८ हजार सुनका औँठी तयार पारिएको र वार्षिक करिब ४ लाख ४१ हजार नवजात लाभान्वित हुने अनुमान गरिएको छ। सरकारले सुरक्षित प्रसूति बढाउने र सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बलियो बनाउने उद्देश्यले योजना ल्याएको जनाएको छ। यता, विपक्षी नेताहरूले भने सुनको औँठीभन्दा सरकारी अस्पतालको पोषण, जनशक्ति, स्वास्थ्य सेवा र पूर्वाधार सुधारमा बढी ध्यान दिनुपर्ने धारणा राखेका छन्। #vijaythalapathy